जनकपुर । धनुषा र सिरहाको सीमानामा पर्ने कमला नदीको ढोका छेउमा आज दुई दाजुभाइको शव फेला परेको छ ।
कमला नदीको ढोकामा अड्किएको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुर निवासी १७ वर्षीय मोहम्मद अली र उनका फुपुको छोरा भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको प्रहरीले जनाएको छ।
ज ९ प ६१९४ नम्बरको मोटरसाइकलमा चढेर पर्यटकीय क्षेत्र उत्तर बाहिनी गएका दुवै जनाको शव आज कमला नदीको ढोका छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।
कमला नदीमा नुहाउने क्रममा दुवैलाई बाढीले बगाएर कमला नदीको ढोकासम्म ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
दुवै शवको परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।