काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्ड भ्रमणमा रहेको नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको हो ।
स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १८० रन बनाउन सक्यो।
नेपालका लागि आसिफ शेखले अविजित ५० रनको अर्धशतकीय पारी खेले। ८४ बल खेलेका उनले ४ चौका प्रहार गरे।
त्यस्तै, देव खनालले ३४ रन बनाउँदा करण केसीले १९ तथा कुशल भुर्तेलले २७ रनको योगदान गरे। बलिङतर्फ नामिबियाका लागि बेर्नाड सोलेज्ड, डेभिड विस र जान फ्राइलिन्कले समान दुई–दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २२० रन बनाएको थियो ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए। सोमपाल कामीले दुई विकेट लिँदा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए।
हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध बुधबार खेल्नेछ ।