Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • देउवा सरकारको एक वर्ष : थेग्नै नसक्ने मूल्यवृद्धि

    देउवा सरकारको एक वर्ष : थेग्नै नसक्ने मूल्यवृद्धि

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 894
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सम्हालेको आज एक वर्ष पूरा भएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बुधबार ४२ उपलब्धी सार्वजनिक गरेको छ ।

    देववा सरकारले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल हुनलाई पहिलो उपलब्धि मानेको छ । देउवा सत्ता गठबन्धनमा रहेका काँग्रेस बाहेकका ४ दलको समर्थनमा गत वर्षको असार २९ मा प्रधानमन्त्री बनेका थिए ।



    देउवा नेतृत्वको सरकारले ४२ उपलब्धी सार्वजनिक गर्दै गर्दा देश श्रीलंकाकै बाटोमा अगाडि बढिरहेकोप्रति भने सरकार उदासिन जस्तै देखिएको छ । सत्तारुढ दल नेकपा माओवादीकै शीर्ष नेता नारायणकाजी श्रेष्ठले त यस अघि नै नेपाल ढिलाचाँडो श्रीलंकाकै अवस्थामा पुग्ने बताइसकेका छन् ।



    सत्तारुढ दलकै जिम्मेवार नेताले यस्तो बताउँदा देउवा नेतृत्वको सरकारले देशको अर्थतन्त्र कहाँ पुर्‍यायो भन्ने आम सर्वसाधरणले सहज अनुमान गर्न सक्छन् । त्यसो त प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशको अधोगतिमा ब्रेक नलाग्ने हो भने श्रीलंकाभन्दा नेपाल तल पुग्ने बताएका थिए ।

    वैदैशिक मुद्राको सञ्चितिको गिरावट, आकाशिँदो मूल्यवृद्धि र बढ्दो परनिर्भरताले देशको अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको छ । तर, देउवा सरकार भने उपलब्धि हासिल गरेको भन्दै रमाइरहेको अवस्था छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार देशको अर्थतन्त्र दिनानुदिन कमजोर बन्दै गएको छ । देशको विदेशी मुद्रा सञ्चिति १५.९ प्रतिशतले घटेको छ । चालू आवको ११ महिनासम्ममा विदेशी मुद्रा सञ्चिति २ खर्ब २२ अर्ब १९ करोड रूपैयाँले घटेको हो । गत वर्षको सोही अवधिमा विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रूपैयाँ रहेकोमा २०७९ जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब ८४ करोड रूपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षभन्दा यो वर्ष २ खर्ब २२ अर्ब विदेशी मुद्रा सञ्चिति घटेको देखिन्छ ।

    जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । पछिल्लो एक महिनामा मात्रै मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ६.०९ प्रतिशत रहेको छ । चालु आवको ११ महिनासम्म थोक मुद्रास्फीति १४.७७ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा थोक मुद्रास्फीति ९ प्रतिशत मात्रै रहेको थियो । चालु आवको ११ महिनामा ५.७७ प्रतिशत थोक मुन्द्रस्फीति भएको छ ।

    यस्तो अवस्थामा पनि देउवा सरकार भने ४२ उपलब्धि सार्वजनिक गरेर जनताको आँखामा छारो हालिरहेको प्रष्ट हुन्छ । यो सरकार निर्माण भएपछि चालु खाता दोब्बरभन्दा पनि धेरै घाटामा गएको छ । पछिल्लो ११ महिनामा चालु खाता ५९५ अर्ब ६३ करोड घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिमा २९८ अर्ब ११ करोड घाटामा थियो ।

    आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो । आयातको वृद्धि निर्यातको भन्दा परिमाणमा निकै उच्च छ । त्यसैले वैदेशिक व्यापार घाटाको अन्तराल झन् झन् फराकिलो बनिरहेको छ । यो अवधिमा रेमिटान्स ३.८ प्रतिशतले मात्र वृद्धि भएको छ । त्यो पनि सरकारले विदेशी मुद्रा सञ्चिति सकिँदै गएको भन्दै अटोमोवाइल्स लगायतका विलासीताका वस्तु आयातमा रोक लगाउँदाको अवस्था हो यो ।

    नेप्सेको कुरा गर्ने हो भने अघिल्लो वर्षको तुलनामा यो वर्ष नेप्से परिसूचकमा ९२७ अंकको गिरावट देखिन्छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भएको छ । नेपाल सरकारले पनि पेट्रोलियम पदार्थको कर घटाउने भनेर हल्ला चलाए पनि नेपाल आयल निगमलाई ऋण नै लिन बाध्य पारेको छ । अघिल्लो आवको असार अन्तिममा पेट्रोल प्रतिलिटर १२८ रूपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १११ रूपैयाँ रहेको थियो । खाना पकाउने एलपीजी ग्यास १४२५ रूपैयाँ थियो । चालु आवको असारमा आइपुग्दा पेट्रोल प्रतिलिटर १८१ रूपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १७२ रूपैयाँ पुगेको छ । त्यस्तै ग्यास प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

    दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धि थेगिनसक्नु बढेको छ । खानेतेलको मूल्य सबैभन्दा धेरै बढेको छ । सनफ्लावर तेल प्रतिलिटर ३५५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सनफ्लावर प्रतिलिटर २३० रूपैयाँ थियो । १ वर्षमा नै तेल प्रतिलिटर १२५ रूपैयाँ मूल्यवृद्धि भएको हो ।

    अघिल्लो वर्ष ९ सय प्रतिलिटर रहेको नेपाली घिउ अहिले प्रतिलिटर १२ सय पुगेको छ । अघिल्लो वर्षको असारमा ९५ रूपैयाँ प्रतिकेजी रहेको चिनी अहिले १०५ पुगेको छ । त्यसैगरी सेतो केराउको मूल्य पनि प्रतिकेजी अघिल्लो वर्ष १२० मूल्य रहेकोमा अहिले २ सय प्रतिकेजी पुगेको छ । दालमा पनि अत्यधिक मूल्य वृद्धि भएको छ । अघिल्लो वर्षको असारमा प्रतिकेजी १४० रूपैयाँ रहेको मुसुरोको दाल अहिले १७५ रूपैयाँ पुगेको छ । अघिल्लो असारमा प्रतिकेजी १७० रहेकोको रहरको दाल हाल १८५ रूपैयाँ पुगेको छ ।

    दैनिक उपभोग्य सामान चामलमा व्यापारीहरुले आफूखुसी २ सय रुपैयाँसम्म मूल्यवृद्धि गरेका छन् । मैदा, आँटा, फलफूल, फलामजन्य पदार्थ, सिमेन्ट, रङलगायतमा भएको मूल्यबृद्धिले आम जनताको ढाड सेकेको छ ।

    त्यसोत साना साना नानीहरुका खेलौनादेखि किताव कापीको समेत मूल्यबृद्धि थेगिनसक्नु छ । न्यूप्लाजामा रहेको एक स्टेसनरी पसलका सञ्चालकले १२० रुपैयाँमा पाइने अल्फाबेट चार्टलाई होलसेलमै ३२० भनेकाले आफूले नल्याएको बताए । उनी भन्छन्–‘मैले अस्ती सम्म १३५ रुपैयाँमा बेचेको चार्ट हिजो होलसेल जाँदा त ३२० रुपैयाँ रे, अनी त्यो ल्याएर कसरी बेच्नु । त्यसैले मैले त ल्याएको छैन । तपाईलाई चाहिन्छ भने मागइदिन सक्छु ।’

    यता, तरकारीको मूल्य मनि छोइनसक्नु छ । ५० रुपैयाँ किलो भन्दा कममा कुनै पनि तराकारी पाइन्न अहिले । तर, नेपाली किसानहरुले पाउने प्रतिकिलो मूल्य भने एकदमै न्यून रहेको किसानहरुको गुनासो छ । कालीमाटी तरकारी बजारमा गएर अनुगमन गर्ने सरकारले कसरी मूल्यबृद्धि भइरहेको छ भन्ने बारे भने कहिल्यै अनुसन्धान गरेको छैन । कालीमाटीमा आउने तरकारी प्राय सबै किसनबाट अर्का एक व्यक्ति हुँदै व्यपारीसम्म आइपुग्छ । ब्यापारीहरुले सिमित रकम नाफा राखेर व्यपार गर्छन् । तर, उनीहरुलाई पनि थाहा हुन्न कि किसानसँग ती बीचका व्यक्तिहरुले कतिमा किनेर ल्याएका हुन् । तर, सरकार भने तिनै कालीमाटीका व्यापारीमाथि मात्रै खनिदै आएको छ । जसले गर्दा न त बजारमूल्य समायोजन हुन सकेको छ न त किसानले नै सामान अनुसारको मूल्य पाएका छन् ।

    अर्कोतिर देउवा सरकार खेती लगाउने सिजनमा मल र विऊँ दिन पनि असफल सावित भइसकेको छ । रासायनीक मलको अभावमा धादिङका किसानले राजमार्गमै ट्रक रोकेर मल लुटेको दृष्य सायद प्रधानमन्त्री देउवाले पनि हेरेकै होलान । तर, यतातिर पनि देउवा नेतृत्वको सरकारले कुनै चासो र चिन्ता देखाएको छैन ।

    यसरी मूल्यबृद्धिले आकाश छुँदा समेत कानमा तेल हालेर बसेको सरकाले एक वर्षका उपलब्धी भनेर सार्वजनिक गरेको ४२ बुँदाप्रति उद्योगी, व्यापारी र आम जनताले कसरी लिनेहुन् ? त्यो भने पर्खाइको विषय बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार