Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

२२ दिनदेखि उदयपुर सिमेन्ट उद्योग बन्द

उदयपुर । वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेसनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ ।

गत ९ असारमा परेको चट्याङले नेपाल प्राधिकरण लहान सबस्टेशन पूर्ण रुपमा क्षति पुर्‍याए यता कारखाना खुलेको छैन ।

उद्योग बन्द हुँदा दैनिक ७२ लाख ३० हजार रुपैयाँ घाटा भइरहेको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘विद्युत् आपूर्ति रोकिएपछि उद्योग बन्द छ । अहिलेसम्म १५ करोड ९० लाख ६० हजार रुपैयाँ उद्योगलाई घाटा भइसकेको छ ।’

उद्योग पूर्ण सञ्चालन गर्न ६ दशमलब ५ मेगावाट विद्युत् आवश्यक पर्छ । तर, अहिले प्राधिकरणले २ मेगावाट मात्रै उपलब्ध गराउँदै आएको छ ।

प्राधिकरणको लहान सबस्टेसनमा चट्याङले हानेपछि सिराहा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुमा समेत विद्युत आपूर्तिमा समस्या भएको छ ।

प्राधिकरणको लहान सबस्टेशन पूर्ण रुपमा क्षतिग्रस्त भएपछि उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुमा अहिले सोलु करिडोरमा उत्पादन भएको विजुली वितरण गरिएको छ । सिराहामा भने सप्तरी र धनुषाबाट बिद्युत आपूर्ति गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077