जनकपुरधाम । संघीयताको मोडल अवलोकन गर्न मधेश प्रदेश सरकारको टोली युरोपको भ्रमणमा जाने तयारीमा जुटेका छन् । संघीयताको मोडालिटी अध्ययन गर्न भन्दै प्रदेश सरकारको जम्बो टोली युरोप जान लागेको हो ।मधेस सरकारको टोली भदौ ६ गते युरोप प्रस्थान गर्ने भएको छ ।
टोलीमा मुख्यमन्त्री राउत, मधेस प्रदेशका सभामुख सरोजकुमार यादव, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन यादव, गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह छन् ।
यस्तै, प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले सोही पार्टीका सभासद रानी शर्मा तिवारी र नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो साटो प्रदेशसभा सदस्य शारदा थापालाई भ्रमणमा पठाउने जनाएका छन् ।
प्रदेशसभाका सचिव रञ्जितकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, मुख्य सचिव लगायत करिब डेढ दर्जनको संख्यामा मधेस सरकारका पदाधिकारी तथा कर्मचारी भ्रमण टोलीमा रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
स्वीटजरल्याण्डसहित युरोपका विभिन्न देशको भ्रमणका लागि भिसा आवेदनको तयारी भइरहेको जनाइएको छ