काठमाडौं । नेकपा एमाले सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले संसदमा संघीय प्रणालीमाथि प्रश्न उठाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको विशेष समय लिएर बोल्दै उनले आन्दोलनमा माग नै नभएको संघीयता नेपालमा भित्र्याइएको भन्दै आलोचना गरेका हुन् ।
सांसद बाँस्कोटाले भने, ‘जनता संघीय सरकारका ३/४ वटा टायरका कुराले आजित भइसकेका छन् । जनताले संघीयता फेला पारेका छैनन् । प्रदेश जनताले फेला पार्दैनन् ।
स्थानीय तहमा कर्मचारीहरू छैनन् । पुलिसलाई भन्यो भने ८/९ सय संसद र मन्त्रीको सलामी गर्दै ठिक्क छ । जनता पनि असुरक्षित छन् ।’
उनले संघीयताबारे प्रश्न उठाउँदा कान झिकिदिने, आँखा फुटाइदिने धम्की आफूले सुनेको पनि बताए । तर, संघीयताले जनतालाई कुनै किसिमको राहत, सहुलियत, सुशासनका साथै देशको आर्थिक सामाजिक प्रगति गर्न नसकेको उनको भनाइ छ ।