Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोरी गरेको रुपैयाँ फिर्ता मागेपछि अर्जुनको अपहरणपछि हत्या, पाँचजना पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ७ का १८ वर्षीय अर्जुन साहको हत्या आरोपमा पाँचजना पक्राउ परेका छन् । बिहीबार महोत्तरी प्रहरीले साहको हत्यामा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा लोहारपट्टि नगरपालिका ९ खुट्टा पिप्राढीका २३ वर्षीय जित कुमार यादव, उनका भाइ कृष्ण यादव, जनकपुरधाम ७ का (टेम्पो चालक) सन्तोष कुमार, सहिदनगर नगरपालिका ३ का बिगुल मुखिया र उनकी श्रीमती प्रमिला महरा रहेका छन् । उनीहरूले योजना बनाएर साहको हत्या गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीकाअनुसार एक वर्ष अगाडि प्रमिला महरा, उनका श्रीमान बिगुल मुखिया र कृष्ण यादवले मृतक अर्जुन साहको घरबाट नगद एक लाख तथा सुनका गहना चोरेका थिए । उनीहरूले चोरी गरेको थाहा पाएपछि अर्जुनकी आमाले चोरी गरिएको सामान फिर्ता गरे प्रहरीमा उजुरी नदिने बताएकी थिइन् ।

त्यसपछि आपसी छलफल गरी प्रमिला महराको श्रीमान बिगुल मुखिया एक लाख १७ हजार र कृष्ण यादवले दुई लाख ४६ हजार तिर्ने तमसुक बनाएका थिए । त्यसपछि फेरि उनीहरू केही समय सम्पर्कविहीन भए ।

त्यसको एक महिनापछि अर्जुनकी आमाले उनीहरूलाई जनकपुरमा फेला पारी तमसुकबमोजिमको पैसा नतिरे प्रहरीमा उजुरी गर्ने चेतावनी दिएकी थिइन् ।

सोही रिसइवीको कारण उनीहरूले अर्जनुकी आमालाई मारी निजको आमाले लगाएको सुनका गरगहना, घरमा रहेको नगद र निजहरूसँग बनाएको तमसुकसमेत लुट्ने योजना बनाएका थिए ।

कृष्ण यादवले पूर्वयोजना अनुसार आफ्नो दाजु जितकुमार यादव र सन्तोष कुमारलाई अर्जुनको हत्या गरे ३०/३० हजार दिने प्रलोभन देखाएका थिए ।

साउन २० गतेदेखि नै अर्जुन घरबाट बेपत्ता थिए । त्यसको चार दिनपछि प्रहरीले महोत्तरी लोहारपट्टि नगरपालिका ८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टि जाने भित्री सडकखण्डमा उनको शव फेला पारेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा योजनाबद्ध रूपमा अर्जुनको हत्या भएको पत्ता लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077