काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् ।
सचिव भट्टराईले चालू केन्द्रीय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्प सहितको सन्देश दिने दावी समेत गरेका हुन् ।
शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले एमाले नेतृत्वको सरकारको खोजि भइरहेको बताए । सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रिय कमिटीमार्फत चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारे ।
सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको पटकपटक दोहोर्याए ।