काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संविधान विपरीत भएको बताएका छन् ।
सरकारले मानवअधिकारको सर्वव्यापी सिद्धान्त र नेपालको संविधानका प्रावधानविपरीत संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याएको बाँस्कोटाले आरोप लगाएका हुन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अहिले सरकारले यो विधेयकलाई आँधीहुरी जसरी ल्याएको टिप्पणी गरे । तर यो विधेयकले पीडितलाई न्याय दिन्छ कि दिँदैन भन्ने प्रश्न उठेको उनको भनाइ छ ।
प्रस्तुत विधेयकले मानव अधिकारका प्रश्नमा संविधानले गरेको परिकल्पनालाई चुनौती दिएको उनले बताए । मानव अधिकारको विषय गम्भीर र सामान्य भनेर वर्गीकरण नहुने उनले प्रस्ट पारे ।