Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार कटवालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपालयका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरेको भन्दै उनीविरुद्ध चार लाख ९८ हजार ९९५ रुपैयाँ बिगो कायम गरी बिहिवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा कटवालले आफ्नो पदको दुरुपयोग गरी नक्कली बिल भरपाई खडा गरी नक्कली सम्झौता बनाई अनियमितता गरेको खुलेको हो ।

आफैँ नक्कली सम्झौता बनाई आफैँ स्वीकृत गरी आफैंले शोधभर्ना लिने, सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटेल खर्च भएको स्वीकृति गरी बिल भरपाई बनाई आफैँले भुक्तानी लिएको अभियोगपत्रमा उल्लेख छ ।

कतिपयमा खर्च शीर्षकमा स्टोरकिपरबाट शोधभर्ना गरी भुक्तानी लिने, व्यवसायीहरूसँग अफिसको हिसाब किताब मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी मिति सच्याई भ्रमण काजको भुक्तानी लिने लगायतको फर्जी काम कटवालले गर्दै आएको अभियोगपत्रमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको भन्दै रजिस्ट्रार कटवाललाई ४ लाख ९८ हजार ९९५ बिगो कायम गर्दै कैद सजाय र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर गर्न मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077