काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका छन् ।
नेपाल समाजवादी पार्टीद्वारा काठमाडौंमा आयोजित चियापान कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताएका हुन् ।
प्रचण्डले भने, ‘समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक छ । पुरानो जनयुद्ध त सम्भव पनि छैन । समाजवादको २१ औं शताब्दीको नयाँ मोडेल हामीले पत्ता लगाउनुपर्नेछ ।’
प्रचण्डले कुन पार्टीले कति सिट ल्याउने त्यो महत्वपूर्ण विषय नभएको बताए ।संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेको तर ती दुबै व्यवहारतः सफल नभएको बताए ।
प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उनले बताए । प्रचण्ड र बाबुराम इतिहासले पैदा गरेको नेतृत्वहरु र युगान्तकारी भूमिका खेल्ने नेताहरु भन्दै प्रचण्डले उनीहरु अलग हुँदा कसरी आन्दोलन नै नराम्रोसँग धक्का खाँदो रहेछ र क्रान्तिकारीहरु हेपिँदा रहेछन् भन्ने अहिले भोगिरहेको प्रचण्डले बताए ।