चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न चितवनको पाँचदलीय गठबन्धनले आग्रह गरेको छ ।
भरतपुरमा बसेको गठबन्धन बैठकले संयु्क्त रुपमा निर्णय सार्वजनिक गर्दै चितवन निर्वाचन क्षेत्र नं. ३ छाडेर अन्यत्र स्थानमा निर्वाचन लड्न नजान बैठकले अनुरोध गरेको हो ।
दाहाललाई चितवनबाटै निर्वाचन लडेर अभिभावकत्व लिन समेत बैठकले अनुरोध गरेको छ । डा.बाबुराम भट्टराईले यसपालि प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन नलड्ने घोषणा गरेलगत्तै प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेको चर्चा चुलिएको थियो।
मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई चितवनबाटै उम्मेदवारी दर्ता गर्न अपिल गरेको हो।
बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।
बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादीका प्रेमराज भूजेल पनि सहभागी थिए ।