काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ४०७ चालक कारबाहीमा परेका छन् । जसमा नम्बरप्लेट स्पष्ट नराख्ने ४४६ र मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् ।
काठमाडौं उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने १५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई मोटरसाइकलका चालकलाई कारबाहीमा गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ७८८ चालक पनि कारबाहीमा परेका प्रहरीले जानकारी दिएको छ ।
स्पष्टरूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान थालेको छ ।