Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले उम्मेदवार भगवती चौधरीसँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले)को तर्फबाट सुनसरी जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

इटहरी उपमहानगरपालिका वडा नं. १४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा हिमालपोष्ट डट कममा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (फ) मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ ।

निर्वाचन आचारसंहिता लागू भई सकेको विषयको सन्दर्भमा तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिनुभएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

स्पष्टीकरण पत्रमा निर्वाचनमा मतदातालाई स्वतन्त्र रुपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा तपाईंबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा नकारात्मक प्रभाव पर्ने गरी दिईएको धम्कीपूर्ण तथा हिंसाउद्यत गराउने अभिव्यक्ति तपाईंले नै दिएको होइन भन्ने आधार र कारण के छ ? साथै तपाईंले सार्वजनिक मञ्चमा दिनु भएको भड्काउपूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) र सोही ऐनको दफा १३ को उपदफा (१) को खण्ड (फ) को उल्लंघन हुन गएकाले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्ट पार्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077