काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ ।
एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका–३ सिकैचामा आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाटसमेत सार्वजनिक भएको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।
तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो ? भन्दै २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने’ उल्लेख छ ।