लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति सम्झौता गरेर आफूहरूले देशलाई असफल राष्ट्र हुनबाट जोगाएको जिकिर गरेका छन्।
लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले विस्तृत शान्ति सम्झौता गरेर देशलाई अफगानिस्तान जस्तो हुनबाट जोगाएको बताए।
उनले भने, ‘हामीले शान्ति सम्झौतामा हस्ताक्षर नगरेको भए के हुन्थ्यो होला देश ? युद्ध र द्वन्द्वको स्थिति अझै चर्किँदै गएको भए।
हामीले भन्ने गरेको छौँ १७ हजार नेपालीको ज्यान गयो। लडाइँमा धेरै पीडित भए। ठुलो पीडाबाट हामी गुज्रिनपर्थ्यो।' आमनेसामने हुने शक्तिहरूको बीचमै सहमति भइसकेपछि शान्ति आउने बताए।
उनले शान्ति सम्झौता नभएको भए १७ हजारको मात्रै नभएर लाखौँको ज्यान जान सक्ने स्थिति आउने अवस्थामा गुज्रिरहेको परिस्थिति भएको सुनाए।
उनले भने, ‘हामीले शान्ति सम्झौता नगरेको भए मैले भन्ने गरेको छु ५० औँ हजार मात्रै नभएर लाखौँ मानिसको ज्यान जान सक्थ्यो।
त्यो भएको भए के हुन्थ्यो। कुनै पक्षले पुरै जित्नै र कुनै पक्षले पुरै हार्ने स्थिति देखिएको थिएन। त्यो भएपछि नेपाल एउटा असफल राष्ट्र बन्न सक्ने र विदेशी सेना आउन सक्ने अवस्था थियो ।’
उनले शान्ति प्रक्रियाको बाँकी काम चाडै टुङ्गाउने आश्वासन समेत दिए।