काठमाडौं। नेपाली कांग्रेसले सरकारका कमी-कमजोरीविरुद्ध सशक्त रूपमा खबरदारी गर्ने बताएको छ।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालय बसेको संसदीय कार्यसमितिको बैठकले सरकारको काम-कारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमजोरीविरुद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय गरेको हो ।
बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरूलाई उठान गर्ने, जनजीविकाका सरोकारहरूलाई प्रभावकारी रूपमा सदनमा प्रस्तुत गर्न संसदीय दल र पार्टीबीच समन्वय गर्ने विषयमा छलफल भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्ना विषय राख्दा पनि सरकारले नसुनेको महामन्त्री पौडेलको भनाई छ ।
यस्तै महामन्त्री पौडेलले पार्टीभित्र व्यक्ति व्यवस्थापनको समस्या लामो समयदेखि रहँदै आएको भन्दै त्यसको समाधानका लागि स्पष्ट विधि आवश्यक रहेको बताए ।
उनले भने- 'पार्टीभित्र व्यक्ति व्यवस्थापनको समस्या पहिलेदेखि नै छ। हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुन सक्छ । त्यसैले व्यक्ति व्यवस्थापनको सवालमा स्पष्ट विधि ल्याउन आवश्यक छ।'
कांग्रेसभित्र देखिएका असन्तुष्टिहरू समाधान गर्न धेरै कठिन नपर्ने उनको भनाइ छ । केही नेताहरूमा असन्तुष्टि रहेको स्वीकार गर्दै उनले त्यसलाई संवाद र छलफलमार्फत व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए ।