काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको अन्तिम बैठक सुरु भएको छ ।
चितवनको भरतपुरमा शनिबार दिउँसो केन्द्रीय समितिको अन्तिम बैठक बसेको हो ।
बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बसेको छ । भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।
बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन, विधान संशोधनलगायत विषयमा छलफल गरिने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ ।
उक्त प्रस्ताव केन्द्रीय समितीबाट पारित भएपछि महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।
भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । ९ गतेसम्म सञ्चालन हुने रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने भएका छन् ।
महाधिवेशनको बन्दसत्रमा विधान अधिवेशन हुनेछ। सभापति लामिछानेले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। असार ८ गते नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।