पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सम्झौता अवधि भित्र काम नगर्ने निर्माण व्यवसायीलाई कुनै पनि हालतमा नछाड्न निर्देशन दिएका छन् ।
रुग्ण अवस्थामा रहेका मेची राजमार्ग, मध्यपहाडी राजमार्ग तथा तमोर करिडोर क्षेत्रको स्थलगत निरीक्षण गर्दै आज पाँचथर पुगेका लम्सालले आयोजना प्रमुख, सुरक्षा अङ्गका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको भेटमा यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री लम्सालले भने- 'अधिकांश योजना सम्झौता अवधि भित्र काम नसकिनुमा प्रशासनिक संयन्त्रको कमजोरीले पनि हो, त्यसैले सुरक्षा संयन्त्र जिम्मेवार हुनु जरुरी छ, समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भएपनि काम लगाउनुस, देशमा सरकार छ भन्ने महसुस गराउनै पर्छ ।'
उनले उपस्थित मेची, मध्यपहाडी र तमोर करिडोरका आयोजना प्रमुखहरूलाई सम्झौता मिति समाप्त भएका तथा पटक–पटक म्याद थपिएर पनि काम नगरेका निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया तत्काल अगाडि बढाउन पनि निर्देशन दिए ।
यसअघि नागढुंगा-मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा गत आइतबार पनि उनले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिनुपर्ने’ अभिव्यक्ति दिएका थिए, जसको आलोचना भइरहेको छ ।