Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुर्गा प्रसाईको ‘बैशाखी’ टेकेर संसद् छिर्ने सिटौलाको अर्को प्रयास

    दुर्गा प्रसाईको ‘बैशाखी’ टेकेर संसद् छिर्ने सिटौलाको अर्को प्रयास

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 1.7K
    SHARES

    झापा । नेपाली कांग्रेसमन पूर्वमहामन्त्री एवं झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले नेकपा एमालेका नेता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग भेटेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँगको यसअघिको पराजय बिर्साउने तयारी गरिरहेका सिटौला लिङ्देनको पछिल्लो समयको लोकप्रियताले अत्तालिएका देखिन्छन् ।



    झापाबाट उम्मेदवारी दिएका लिङ्देन देशैभर प्रचारप्रसारमा व्यस्त रहेका बेला सिटौला भने एमालेबाट असन्तुष्ट रहेका प्रसाईलगायतलाई भेट्न अस्पताल नै पुगेका हुन् ।



    झापा क्षेत्र नम्बर ३ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने चाहना राखेका प्रसाईलाई पार्टीले टिकट नदिएर राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई समर्थन गरेपछि प्रसाई दुई साता बढी विदेश भ्रमणमा निस्किएका थिए ।

    यसबाट प्रसाई पार्टीको निर्णय चित्त नबुझेर वा निर्णयविपरित गएको अनुमान लगाउन सकिन्छ । आफूले टिकट नपाएको र राप्रपालाई आफूले रोजेको क्षेत्रमा समर्थन गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका प्रसाईले राप्रपा अध्यक्ष लिङ्देन नक्कली हिन्दुवादी भएको आरोप लगाउँदै आफूले राप्रपालाई भोट नहाल्ने भन्दै सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए ।

    यसैक्रममा प्रसाई–सिटौलाको भेटले नयाँ मोड लिएको छ । भेटमा जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्ने संविधानको सफल कार्यान्वयन गर्ने पक्षधर र उम्मेदवारलाई विजयी गराउनु पर्ने विषयमा कुराकानी भएको सहभागी एक नेताले बताए ।

    भेटमा प्रसाईसँग झापाकै क्षेत्र नम्बर ३ मा पर्ने कचनकवल गाउँपालिकाका मुस्लिम समुदायका अगुवा शेर आलमबीच बिर्तामोडमा रहेको प्रसाईको बीएण्डसी अस्पतालमा भेट भएको स्रोतले बतायो । झापाको क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सिटौला र एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपा अध्यक्ष लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिरहेको बेला प्रसाईसँग सिटौलाको भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

    मंगलबार मात्र राप्रपाले झापामा आयोजना गरेको चुनावीसभामा भारतीय चलचित्रकी नायिका मनिषा कोइरालाको उपस्थितिले चुनावी माहौल लिङ्देनको पक्षमा बढीरहेको छ । यसैसमयमा विवादित व्यवसायी प्रसाईसँगको भेटले सिटौलालाई सकारात्मक भन्दा पनि नकारात्मक प्रभाव पर्ने एक कांग्रेस कार्यकर्ता बताउँछन् ।

    उनी भन्छन्–‘सिटौला दाई डराएको प्रष्ट भयो, नत्र प्रसाईको अस्पतालमै गएर भेट्ने लेबलको मान्छे उहाँ होइन नि !’ झापामा स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले पाएको ३२ हजार ६३७ रहेको छ भने एमाले र राप्रपाको मतभार करिब ४२ हजार देखिन्छ । यसबाट पनि उक्त क्षेत्रमा सिटौलाको तेस्रोपटक संसद छिर्ने चाहना लिङ्देनले तुहाइदिने संकेत देखिएको छ ।

    सिटौला र लिङ्देनको यो चौथो प्रतिस्पर्धा हो भने सिटौला सातौंपटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैछन् । सिटौला र लिङ्देनबीच २०५६, २०७० र २०७४ मा भिडन्त भइसकेको छ भने यसपटक पनि चुनावी मैदानमा रहेका छन् ।

    यसअघिको भिडन्तमा २ पटक सिटौलाले र एकपटक लिङ्देनले बाजी हात पारेका छन् । सिटौलाले २०५६ को आम निर्वाचनमा झापा–१ मा लिङ्देनविरुद्ध जित हात पारेका थिए । त्यसपछि भने ०६४ को संविधानसभा चुनावमा सिटौला माओवादी नेता पूर्णसिंह राजबंशीसँग झापा ३ मा पराजित भए । त्यतिबेला लिङ्देनले उम्मेदवारी नै दिएनन् ।

    त्यसपछि दोस्रो संविधान सभा निर्वाचन २०७० मा सिटैलाले लिङ्देनलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित बनेका थिए । तर २०७४ को निर्वाचनमा भने लिङ्देनले सिटौलालाई १३ हजार ४४३ मतले पराजित गर्न सफल भए । त्यतिबेला सिटौलाले ३१ हजार १ सय ७१ ल्याउँदा लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार