काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
सोमबार दिउँसो सत्ता गठबन्धनका दलहरुको बैठक बस्ने तयारी छ। गठबन्धनको बैठक अगाडि सोमबार बिहान कार्कीले प्रचण्डसँग भेट गरेका हुन्।
सो क्रममा उनीहरुबीच निर्वाचनमा जितेकोमा एक अर्कामा बधाई साटासाट गरेका थिए ।
प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवानिकट नेता कार्कीले प्रचण्डसँगको भेटका क्रममा गरेको कुराकानीबारे भने केही खुलाइएको छैन।
सोमबार दिउँसो बस्न लागेको सत्ता गठबन्धनको बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनका बारेमा छलफल हुने जनाइएको छ।