काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिँदा गाह्रो हुने बताएका छन् ।
आज भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले विगतमा जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिएको बताउँदै अब आश्वासन दिँदा पनि गाह्रो हुने बताए ।
उनले भने,‘अब यो आश्वासन दिँदा पनि गाह्रो हुदो रहेछ । तर हाम्रो बानी के छ भने धेरै आश्वासन दिने धेरै कुराहरु गर्ने त्यहाँ ठाउँ राख्नुपर्नै रहेछ ।
म सक्दो कोशिस गर्छु भनेर भन्नुपर्दो रहेछ किनभने मान्छेले सबै कुरा पुरा गर्न सक्दैन । जनताको आकंक्षा असिमित हुन्छ । आंकक्षाहरु पुरा गर्न सकिँदैन र तर गर्नेपर्ने आवश्यकताहरुमा पुरा गर्न कोसिस गर्नुपर्छ ।’
यस्तै उनले चुनावमा पराजित भएका नेताहरुलाई जनतालाई मन नपराएको संज्ञा दिए। नेपालले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न सक्छौं त्यो मूख्य कुरा भएको बताए । उनले जनताका आवाज सुनेर सम्भव भएसम्म सम्बोधन गर्न समेत आग्रह गरे।