काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
नेपाललाई भेट्न प्रचण्ड आज दिउँसो नेपाल निवास कोटेश्वर गएका हुन् । भेटमा आगामी सत्ता समीकरणका विषयमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ।
गत शनिबार प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गरेका थिए।
नेपाली कांग्रेसको आइतबारको पदाधिकारी बैठकले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। यद्यपी प्रचण्डले आफू प्रधानमन्त्री बन्ने प्रयासमा गृहकार्य गरिरहेका छन्।
उनले सत्ता साझेदार कांग्रेस बाहेकका राजनीतिक शक्तिहरूसँग मिलेर सरकार गठनको प्रयास गरिरहेका छन्। प्रचण्डले आइतबार नै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग सत्ता गठबन्धन जोगाउने हो भने आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान राखेका थिए।
नेपाल निवास कोटेश्वरमा आज दुई नेताबीचको भेटमा कांग्रेस बाहेकको सत्ता समीकरण बनाउने बारे पनि छलफल भएको स्रोतले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सातदिनको समयसीमा राख्दै सरकार गठन गर्न आह्वान गरेपछि शीर्ष नेताको राजनीतिक दौडधुप बढेको हो।