काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीका नेताहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेका छन् ।
मंगलबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न आग्रह गरेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘ जे जे लागेको छ, कमिटीमै राखौं । फेसबुकमा लेखेर आफूलाई लागेको कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ, न त्यो अनुशासित पार्टी बन्छ ।’
उनले अरुको प्रसंसा गर्ने र आफ्नै नेतृत्वको बद्ख्वाई गर्ने काम बन्द गर्न समेत निर्देशन दिएका छन् । नेपालले आफूलाई लागेको पार्टी कमिटीमा राख्न निर्देशन दिँदै नेताहरूले आफूखुसी मिडियामा प्रचार गर्न थालेको भन्दै असन्तुष्टि जनाए ।
पार्टी वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीले पार्टीविरुद्ध गतिविधि गरेको बैठकमा कुरा उठेपछि अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन् ।