काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्लाको खण्डन गरेको छ ।
क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन अनुरोध गरेको हो।
मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको छ । त्यस्तै क्यानले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको बताएको छ ।
क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो । यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला ।’
क्यानले वक्तव्यमा नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
मिथ्या र भ्रामक सूचना नफैलाउन पनि कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा हस्ताक्षरित वक्तव्यमा आग्रह गरिएको छ ।
९ पुसदेखि सुरु भएको नेपाल टी–२० लिगमा बेटिङ, सम्भावित फिक्सिङ र विदेशी खेलाडीलाई श्रम स्वीकृतिविना खेलाइएको घटनाप्रति अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेले मंगलबार नै नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।