Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मनमोहनपछि ‘प्रचण्ड’लाई ऐतिहासिक समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा अत्यधिक समर्थनसाथ विश्वासको मत पाएका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत पाए । प्रधानमन्त्रीको विपक्षमा दुई साना दलका तर्फबाट दुई मत मात्र पर्‍यो ।

‘प्रचण्ड’लाई सदनको दोस्रो ऐतिहासिक समर्थन हो । यसअघि नेकपा एमालेका तर्फबाट तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सदनमा रहेको उपस्थितिको शतप्रतिशत मत पाएका थिए ।

अधिकारीले २०५१ पुस ७ गते प्रतिनिधि सभामा भएको मतदानमा १९८ मत पाएका थिए । २०५ सदस्यीय तत्कालीन प्रतिनिधि सभामा मतदानमा उपस्थित सबै सदस्यको मत अधिकारीले पाएका थिए । सभाध्यक्षबाहेक उक्त मतदानका क्रममा छ सदस्य अनुपस्थित भएको प्रतिनिधि सभाद्वारा प्रकाशित संसदीय विवरण पुस्तिकामा उल्लेख छ ।

२०५१ सालको राजनीतिक कालखण्डपछि उक्त ऐतिहासिक मत कुनै पनि प्रधानमन्त्रीले पाएका छैनन् । २८ वर्षपछि प्रधानमन्त्री प्रचण्डले सदनमा उपस्थित दुई जनाबाहेक सबैको मत पाउनुभएको हो । ‘प्रचण्ड’लाई आफ्नो दल नेकपा (माओवादी केन्द्र) बाहेक सदनका सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दलले विश्वासको मत दिएका छन् ।

यस्तै प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, योगेन्द्र मण्डल, लालवीर चौधरी र प्रभु साहले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077