झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान राजनीतिक परिस्थिति राष्ट्रको लागि संकट उन्मुख रहेको दाबी गरेका छन् ।
शुक्रबार झापाको बिर्तामोडमा सहारा नेपाल साकोसले आयोजना गरेको सभामुखलाई सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो दाबी गरेका हुन् ।
उनले संसदमा रहेका दलहरुबाटै अहिलेको शासन व्यवस्थामाथि खतरा बढेर गएकोमा चिन्ता व्यक्त गरे । उनले संविधानको कल्पनाविपरीत हुने गरी गतिविधि र धारणाहरु संसद् र सडकमा देखिन थालेको टिप्पणी गरे ।
उनले भने, ‘हाम्रो संविधानले राजतन्त्ररहित व्यवस्थाको व्यवस्था गरेको छ । तर, संविधान विपरीतका गतिविधिहरु भइरहेका छन् । यस्ता गतिविधिहरु राष्ट्रका लागि कति घातक छन् ? सरकारले ध्यान दिन जरुरी छ ।’
संविधानले राजतन्त्ररहित व्यवस्था अंगीकार गरेको अवस्थामा सरकारमा रहेको पार्टी 'नेकपा एमालेकै केन्द्रीय सदस्यले मुलुकमा राजतन्त्र चाहिन्छ' भनेर मेची–महाकाली अभियान गरिरहेकोप्रति उनले आपत्ति जनाए ।
केही दिनअघि एमाले केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा झापाको पूर्वीनाका काँकडभिट्टाबाट मेची–महाकाली अभियान सुरु गरेका थिए ।