काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले प्रमुख राजनीतिक शक्तिहरूलाई एउटै संवाद मञ्चमा ल्याउने प्रयासलाई वर्तमान परिस्थितिमा आवश्यक र स्वागतयोग्य पहल भएको बताएका हुन् ।
उनका अनुसार संसद्को गतिरोध अन्त्य गर्न सभामुखले सक्रिय भूमिका खेल्नुपर्ने बेलामा राजनीतिक दलहरूबीच संवाद अभाव देखिनु चिन्ताजनक विषय हो ।
यस्तो अवस्थामा रास्वपाको पहलले राजनीतिक सहमति र संवादको वातावरण निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ।
बस्नेतले सरकारको कार्यशैलीप्रति पनि टिप्पणी गर्दै जनअपेक्षाविपरीत निर्णय, प्रधानमन्त्रीका अभिव्यक्ति तथा राजनीतिक नेतृत्वमा परिपक्वताको कमी देखिएको आरोप लगाएका छन्।
उनका अनुसार यस्तो परिस्थितिमा दलहरूबीच सहकार्य र समझदारी अझै आवश्यक बनेको छ।
उनले लेखेका छन्, “रास्वपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सकारात्मक पहल हो। अहिलेको राजनीतिक अवस्थालाई हेर्दा दलहरूबीच संवाद, सहकार्य र सहमति अत्यन्त आवश्यक छ।”