काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग- २ मा नामिबियाविरुद्धको खेलमा नेपालले सहज जित हात पारेको छ ।
नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ३ विकेट बाँकी छँदै पूरा गरेको हो । नेपालको जितमा ब्याटिङतर्फ आसिफ सेख र कुशल मल्ल तथा बलिङतर्फ सन्दीप लामिछानेले मुख्य भूमिका निभाए ।
योसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको छ । शनिबारको खेलमा नेपाललाई जिताउन ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए ।
शनिबारको खेलमा नेपालका आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि गरेको १३९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो ।
यसअघि नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेट र दोस्रो खेलमा स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो। नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७.३ ओभरमा पूरा गर्यो।
नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। ओपनर आसिफ शेखले ८१ रनको योगदान गरे। उनले ९८ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्लले ६५ रन जोडे। उनले ७४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
युवा ब्याट्सम्यान कुशल मल्लले पनि लगातार दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा ६२ रनको योगदान गरे। उनले ४९ बलमा ६ चौका र ४ छक्का हिर्काए।
अर्का ओपनर कुशल मल्ल १ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले पनि १ रन मात्र जोड्न सके। कप्तान रोहित पौडेल ३९ रन र सन्दीप जोराले ३ रन मात्र जोड्न सके। विजयी चौका हिर्काएका सोमपाल कामीले नटआउट ८ रन जोडे। नेपालले पछिल्लो पाँच ओभरमा चार विकेट गुमाएको थियो।