काठमाडौं । आईसीसी विश्वकप लिग टूको नेपाल सिरिजको खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।
टियु मैदानमा भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो ।
स्कटल्याण्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अलआउट भयो ।
नामिबियाका लागि लोहार्ड लोहारेन्सले ६७ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ग्रेहार्ड इरास्मसले ३८ बलमा ४३ तथा जेन ग्रिनले ४० बलमा २५ रन बनाए ।
स्कटल्याण्डका लागि मार्क वाटले ४ तथा माईकल लिस्कले ३ विकेट लिए । ब्राण्डन म्याकमुलानले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुदै २ सय २१ रन बनाएको हो ।
नामिबिया नेपाल सिरिज चार खेलमा चार हारका साथ समाप्त गरेको छ । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग,दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा घरेलु टोलीसँग नै पराजित भएको थियो ।
स्कटल्याण्डको भने नेपाल सिरिजमा यो तेस्रो खेलमा दोस्रो जित हो ।