काठमाडौं । एमालेका सांसद रघुजी पन्तले भारतीय विदेशी सचिव विनयमोहन क्वात्राको पछिल्लो नेपाल भ्रमणमा भएका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले परराष्ट्र मन्त्रालयलाई विदेशीका नेपालमा हुने भेटहरू नियमन गर्न पनि माग गरेका हुन् ।
राष्ट्रपति निर्वाचनको पूर्वार्द्धमा भारतीय सचिवको नेपाल भ्रमण र भारतीय पूर्वप्राध्यापक एसडी मुनीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति पन्तले आक्रोश व्यक्त गरे ।
उनले भने, 'परराष्ट्र मन्त्रालयलाई भन्न चाहन्छु कि यो राष्ट्रिय सरोकारको कुरा हो । के हाम्रो सचिव भारत जाँदा यहि किसिमको ट्रिट भारतमा पाउँछ ? पाउँदैन भने नेपालले दक्षिण एसियाको आजसम्म कसैको गुलामी नबोकेको, आजसम्म स्वतन्त्र रहेको, कहिले पनि पराधीन नरहेको देश हो ।
यो देशको राष्ट्रपतिका नाम विदेशीको ट्विटमा हेर्नुपर्छ । त्यो देशको विदेश सचिव आएपछि हाम्रा अखबारको कटिङ हेरौं लाजमर्दो छ । सारा पूर्वप्रधानमन्त्रीलाई भेटेको छ । सारालाई भेटेको छ, यस्तो किन हुन्छ ? भेटघाटलाई नियमन गरियोस् ।'
परराष्ट्र मन्त्रालयले विदेशी पदाधिकारीका भेटहरूलाई कसरी गर्ने भन्ने विषयमा निश्चित प्रक्रिया बनाउनुपर्ने पन्तको भनाइ थियो । भारतको जेएनयूका पूर्वप्राध्यापक एसडी मुनीले नेपालमा कसलाई राष्ट्रपति बनाउने भनेर लेखेको ट्विटप्रति पनि पन्तले आपत्ति जनाएका छन् ।