काठमाडौं । आईसीसी लिग-२ एक दिवसीय त्रिकोणात्मक सिरिज खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई यूएई पठाउने तयारी थालेको छ ।
सर्वोच्च अदालतले सन्दीपमाथि विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गरेपछि उनलाई यूएइ पठाउने तयारी थालिएको हो ।
सन्दीपले घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा १३ विकेट लिएका थिए । नाबालिका बलात्कार आरोपमा धरौटीमा रिहाइ भएका सन्दीपलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएको थियो ।
सन्दीपले आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसपछि सर्वोच्चले सोमबार उनलाई पुन पक्राउ गर्न आवश्यक नरहेको भन्दै विदेश जान अनुमति दिएको थियो ।
सन्दीपको भिजाको लागि यूएई एम्बेसीमा हिजो मात्र पठाएको र अब भिजा आएपछि टिममा समावेश गर्ने क्यान स्रोतले बतायो । नेपालले अहिले यूएईमा पपुवा न्युगिनी (पीएनजी) र घरेलु टोली यूएईसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेलिरहेको छ । जसमा नेपालले पहिलो खेलमा पीएनजीलाई ४ विकेटले हराएको थियो ।