काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताएका छन् ।
बहराइनको मनामा सहरमा आयोजित अन्तरव्यवस्थापित संघ (आईपीयू) को १४६औं महासभालाई आइतबार साँझ सम्बोधन गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।
उनले नेपालका प्रमुख राजनीतिक शक्तिहरूको मौलिक पहलले नेपालमा एक दशक लामो सशस्त्र विद्रोहको अन्त्य भई शान्ति स्थापना भएको बताएका हुन् ।
‘समावेशी सिद्धान्तलाई अङ्गीकार गर्दै सन् २०१५ मा जारी नेपालको संविधान कार्यान्वयनमा छ’, उनको भनाइ थियो, ‘यसैको परिणाम हाल हाम्रो सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेश सभामा ३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित हुन सफल भएका छन् ।’
'सुदृढ लोकतन्त्रका लागि हरेक व्यक्ति र समुदायले आफ्नो अधिकार समान र सहभागीपूर्ण ढंगले उपभोग गर्न पाउने व्यवस्था रहनुपर्छ । त्यसैले वञ्चितीकरणमा परेका समूहलाई मूलप्रवाहमा ल्याइ निर्णय प्रक्रियामा सहभागी गराउन अपरिहार्य हुन्छ,' सभामुख घिमिरेले व्यक्त गरेको वक्तव्यमा उल्लेख छ ।
सभामुख घिमिरेले ‘असहिष्णुताविरुद्ध लड्दै शान्तिपूर्ण सहअस्तित्व र समावेशी समाजको प्रवर्द्धन’ विषयमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्बोधन गरेका हुन्।