काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले केही काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल' प्रचण्ड' नेतृत्वको सरकार दिशाहीन भएको बताएका हुन् ।
सांसद पन्तले भने, ‘सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन ।’
सरकारले १०० दिनको उपलब्धी भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको पन्तले बताए । सरकारले गरेको कामको विषयमा पढ्दा त्यस अवधिमा जन्मिएका बालबच्चाका विषयमा उल्लेख नभएको भन्दै उनले व्यंग्य गरेका छन्।
१०० दिन पूरा हुँदासम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै उनले अहिलेसम्मको उपलब्धी सिद्धान्तहीन र नीतिहीन भएको बताए ।
अहिलेसम्म मन्त्रिपरिषद्को बैठकले पूर्णता पाउन नसकेको हुँदा जनता पनि आशावादी नभएको उनको भनाइ छ ।