काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ । जसकारण आज बिहान सदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावन रहेको छ।
मधेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।
आज राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।