Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा. गोविन्द केसी

ढोरपाटन । डा. गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मङ्गलबार निसीखोला आएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिए ।

डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए । केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुगेका हुन् ।

शाहीले भने, “उहाँ आउने कुनै जानकारी थिएन । स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो । हामी अचम्ममा पर्‍यौँ ।” डा केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिएको उनले बताए ।

“सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ । उहाँहरूको स्वास्थ्य जाँच गर्छु,” डा केसीको भनाइ उल्लेख गर्दै शाहीले भने । डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आएका थिए । आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उनले बताए ।

डा केसीले भने, “पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ । त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुपर्‍यो भन्नुभएको थियो । अहिले मेसो मिल्यो, त्यही भएर आएँ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उनले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिए ।

“उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो । उहाँले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै हुनुहुन्छ,” अध्यक्ष घर्तीमगरले भने, “बिरामी आउन थालेका छन्, हामीले रु एक लाख बराबरको औषधि व्यवस्थापन गरेका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077