Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरणमा एक दर्जन व्यक्ति प्रहरीको निगरानीमा

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ ।

पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र नेपाल सरकारका बलालवाला उच्च पदस्थ कर्मचारीसमेत तानिन थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका आरोपीविरुद्ध संगठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

‘पक्राउ परेकाहरूको बयानका क्रममा आर्थिक कारोबार हुँदा गृह मन्त्रालयका तत्कालीन सचिव रहेका प्रेमकुमार राईको पनि नाम आएको छ, बयानका आधारमा प्रहरीले थप प्रमाणको खोजी गरिरहेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख छन् । उनी २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवको जिम्मेवारीमा थिए ।

प्रहरीले बुधबार मात्रै गृह मन्त्रालयको सचिवका रूपमा त्यसबखत जिम्मेवारीमा रहेका टेकनारायण पाण्डेलाईसमेत नक्कली भुटानी शरणार्थी तयार गर्ने गिरोहलाई सघाएको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ ।

पाण्डे बुधबारसम्म उपराष्ट्रपति कार्यालयमा सचिवको जिम्मेवारीमा थिए । पाण्डे २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म गृहसचिव थिए । काठमाडौं जिल्ला अदालतमार्फत बुधबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी बुझिसकेको छ । उनी पक्राउ परिसकेका छैनन् ।

यसैगरी, हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । रायमाझी बुधबार अर्घाखाँचीमा सार्वजनिक कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भइरहेका बेला काठमाडौं प्रहरीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

उनी बुधबार राति नै बुटवल आएको र बुटवल आएपछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्येका एक आरोपी सागर राईले रायमाझीलाई आफूले नगद बुझाएको बयान प्रहरीसमक्ष दिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि बुधबार साँझ नै बुटवलबाट पक्राउ गरिसकेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नक्कली शरणार्थी बनाउने धन्दामा जोडिएका अन्य १०/११ जना व्यक्ति प्रहरीको निगरानीमा रहेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्तिको संलग्नता खुल्ने बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077