काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल असंलग्न परराष्ट्र नीतिमा सरकारले जोड दिँदै आएकोमा अहिले खलबलिन थालेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।
सांसद पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै प्रतिनिधि सभा बैठकमा विरोध जनाए ।
सांसद पन्तले हालै भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले महांकालमा गएर पूजा गएको, प्रधानमन्त्री र मन्त्रीले गेरुवा बश्त्र धारण गरेपछि भारतका लागि नेपाली राजदूतले बिचारमा पनि गेरुवा वस्त्र धारण गरेको टिप्पणी गरे ।
सांसद पन्तले एक दैनिक पत्रिकामा भारतस्थित राजदूत शङ्कर शर्माको अन्तर्वार्ता आएको बताउँदै सो अन्तर्वार्ता हेर्दा नेपालको परराष्ट्र नीति के हुन लागेको भन्ने प्रश्न खडा भएको बताए ।
उनले भने, ‘नेपालको संविधानमा धर्म निरपेक्षताको कुरा छ, तर नेपाल सरकारले नियुक्त गरेको राजदूत हिन्दु राज्यको वकालत गर्नुहुन्छ, यो कसरी मिल्छ ? यो कस्तो परराष्ट्र नीति हो ?’
उनले राजदूत शर्माले ईपीजीको प्रतिवेदनबारे व्यक्त गरेको धारणा पनि आपत्तिजनक रहेको बताए । सो अन्तरवार्तामा शर्माले घुमाएर हिन्दु राष्ट्र नेपालको वकालत गरेको र नेपालको धर्म निरपेक्षतामाथि प्रश्न खडा भएको टिप्पणी गरे ।