काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अखण्ड भारतको नक्साका विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले भारतले नयाँ संसद भवनमा राखेको नक्साबारे कुटनीतिक नोट पठाउन माग गरेका हुन् । सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको बताए ।
सांसद पन्तले भने,‘यस्तो नक्शाप्रति हाम्रो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता हो । यस्तो नक्शाप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु । के सरकारले चित्त बुझाएको हो?’
पन्तले भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेपनि पहिलेको र अहिलेको भनि नछुट्याएको भन्दै त्यसबारेमा तत्काल कुटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन माग गरे।
उनले नक्साका बारेमा भारतीय विदेशमन्त्री र अन्य मन्त्रीहरूको अभिव्यक्ति फरकफरक आएको समेत बताए।
नक्साबारे भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी मुलुक नेपालले बुझेको भन्ने अभिव्यक्ति दिएको र अर्को मन्त्रीले सामाजिक सञ्जालमा नक्सा राखेर 'संकल्प अखण्ड भारत' लेखेको बताउँदै सरकारले यसबारेमा स्पष्ट पार्नुपर्ने बताए।