काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नरहेको बताएका छन् ।
प्रतिनिधिसभामा बसेको बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताएका हुन् ।
राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री र मन्त्रिपरिषद् भएकाले छुट्टै सल्लाहकार आवश्यक नरहेको सांसद पन्तको भनाई छ ।
सांसद पन्तले भने,‘हाम्रोमा राष्ट्रपतिलाई सुरुदेखि नै सल्लाहकार दिँदै आयौँ । भारतमा १५ जना राष्ट्रपति भए तर अहिलेसम्म सल्लाहकार राखेको छैन । अहिले राष्ट्रपति र उपराष्ट्रपतिसँग सम्बन्धित कानुन हेर्दा राष्ट्रपतिका ७ जना उपराष्ट्रपतिका लागि ५ जना सल्लाहका राख्ने प्रावधान भनेको छ । मैले एक महिना जति भयो पढेको उपराष्ट्रपतिजीले विदेशमा सल्लाह दिने सल्लाहकार राख्नुभएछ, बडा गज्जब छ, उपराष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह दिन के आवश्यक पर्छ ?’
सांसद पन्तले उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट भनेको जनताले तिरेको करको दुरुपयोग भएको बताउँदै बजेट विनियोजन औचित्यपूर्ण नरहेको जिकिर गरे । उनले राष्ट्रपतिले आफूलाई शक्तिशाली पद ठानेर त्यसको दुरुपयोग गर्न थालेको बताए ।