काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका हुन् ।
प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको किताब विमोचनको क्रममा आफू प्रधानमन्त्री हुँदा पटक-पटक दिल्ली गएको र आफूलाई प्रधानमन्त्री बन्न सहयोग गरेको अभिव्यक्ति दिएका थिए।
सांसद पन्तले भने,'यतिबेला नेपालीको मनमा आघात पुगेको छ। सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं भइरहेको छ। हाम्रो मनमा बादल लागेको छ। नेपालीको स्वाभिमान गिरेको छ। नेपालीहरू रोएको छ। सम्माननीय प्रधानमन्त्री पनि भनौं कि नभनौं खै ! नेपालमा प्रधानमन्त्री दिल्लीले बनाउँछ कि संसदले बनाउँछ ?'
उनले नेपालीहरू वीर सपुतहरूको सन्तान रहेको भन्दै प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो हुन नसक्ने बताए। उक्त अभिव्यक्तिले नेपालीको मनमा आघात पुगेको एमालेको जिकिर छ।
उनले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताए। त्यस्तै सभामुख देवराज घिमिरेले संसद बैठक अगाडि बढाउन खोज्दा एमालेले प्रतिपक्षी दलहरूले रोस्टम घेराउसमेत गरेका थिए। एमालेसँगै प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पनि संसद अवरोध गरेका थिए।