काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको जग्गा कीर्ते प्रकरणको छानबिन स्टन्टबाजीमात्र भएको बताएका छन् ।
स्ववियु काउन्सिल नेपालको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले भने,'ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो । यसमा गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला । अहिले मानौं एमालेकै कोही मान्छे यसमा छ जस्तो प्रचार गरिरहेका छन् । ललिता निवासको दोषी को को हुन् ? कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस् ।'
ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नाम नदिई उनका छोरालाई दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टि समेत जनाए । ओलीले ललिता निवास प्रकरणमा सरकारले भ्रष्टाचार विरोधी देखिन पोलिटिकल स्टन्ट बाहेक केही नगर्ने बताए ।
उनले अहिले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजीमात्र भएको दाबी गरे । ओलीले ललिता निवासको जग्गा सम्बन्धी छानबिन आफ्नो नेतृत्वको सरकारले गरेको भन्दै यस प्रकरणमा अहिलेको सत्ता गठबन्धका नेताहरु तानिने बताए ।