काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले अनुसन्धानका क्रममा अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
उनलाई थुनुवा पुर्जी दिई ललितपुरस्थित नख्खु कारागार पठाउनसमेत आदेश दिइएको छ ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार नियन्त्रणमा लिएको थियो।
गत जेठ २८ गते ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका दीपक भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी बनाएर बैंकिङ कसुरको अभियोगमा मुद्दा दायर भएको थियो । सोही मुद्दामा फरार रहेका अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।
विचौलिया भट्टसँग अवैध कारोबारमा मुछिएका अग्रवाल यसअघि पनि २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलको बैंक खाताबाट भट्टको खातामा शंकास्पद रकम जम्मा भएको विषयमा उनीमाथि अनुसन्धान भएको थियो ।
सोही प्रकरणमा अग्रवालका छोरा सुलभ पक्राउ परेपछि शंकरलाई भने आइतबार नै आवश्यक परेका बेला उपस्थित हुने सर्तसहित छाडिएको थियो ।