काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका छन् ।
कम्बोडियाबाट सोमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन् ।
सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन भनेर प्रश्नसमेत गरे ।
उनले भने, ‘गृहमन्त्रीले बताउनुपर्यो उहाँको संलग्नता छ छैन यसमा ? सानोतिनो संलग्नताबाट त भएको छैन होला ? उहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ?’
गत मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको करिब एक क्विन्टल सुन बुधबार भन्सार जाँच पास भएर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।