Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवैध लागूऔषध खैरो हेरोईनसहित १० जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर,मोरङ,बर्दिया,बाँके,कैलाली र झापाबाट लागुऔषधसहित १० जना पक्राउ परेका हुन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका-४ कारगिल डाँडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-५ मटियारी बस्ने २९ वर्षीय लक्ष्मण खड्का र २० वर्षीय आदित्य चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतको बसहीबाट नेपालतर्फ आउदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै उनीहरूले प्रयोग गरेको सु.प.प्र.०१-००८ प ९७८३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

त्यस्तै, मोरङको बिराटनगर महानगरपालिका(१६ दरैयाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय पूर्ण तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रहरीले बर्दियाको बासगढी नगरपालिका-६ मोतिपुर गाउँस्थित सडकबाट अवैध लागुऔषध जस्तो देखिने खैरो पदार्थ १ ग्राम २ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय ओमकार थारु र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय तुल्सीराम थारु रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले मैनापोखरबाट बासगढीतर्फ साइकलमा जाँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै,बाँकेको कोहलपुर नगरपालिका-११ स्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थ ५ केजी ३ सय ६९ ग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला तिला नगरपालिका-३ बस्ने ४१ वर्षीय हरि प्रसाद भट्टराई, ३० वर्षीय देवी प्रसाद भट्टराई र ४० वर्षीय भवानी प्रसाद भट्टराई रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले तलासी गर्ने क्रममा उनीहरूलाई उक्त लागुऔषध र ३ थान मोबाइलसहित पक्राउ गरेको हो ।

प्रहरी चौकी कालाकुण्डा र आरआईटीबाट खटिएको संयुक्त टोलीले कैलालीको टिकापुर नगरपालिका-९ खग्रौलाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६० मिलिग्रामसहित भारत हरनिक सुथाना बरसोला खिरी उत्तर प्रदेश बस्ने ५१ वर्षीय हरिओम सिंह राजपुतलाई मंगलबार साँझ पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र आरआईटीबाट खटिएको संयुक्त टोलीले युपि ३१ बिएक्स ६८९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक राजपुतलाई पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले झापाको मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागुऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ३५ ग्रामसहित इलाम चुलाचुली गाउँपालिका-४ आइतबारे बस्ने २७ वर्षीय धिरज हिमाङ्लाई मंगलबार राति पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077