काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज दिउँसो १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक चल्न नदिने भएको छ ।
एमालेले एक क्विन्टल सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान यथावत् राखेको हो ।
एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले आजको बैठक चल्न नदिने पुष्टि गरे । यसअघि साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभा बैठक चल्न दिएको उनको भनाई छ ।
एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो । प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि डाकिएको छ ।