Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

अव्यवस्थित बसोबासले उपत्यकामा डुबान

काठमाडौं । अविरल वर्षाका कारण मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै जताततै जलमग्न भयो। बढ्दो सहरीकरणसँगै अव्यवस्थित बसोबासका कारण डुबान बढेको विज्ञको बुझाइ छ।

‘भौतिक संरचना निर्माण गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डमा खेलाँची गर्दा डुबानका घटना बढेको अनुमान छ,’ रष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का भन्छन्, ‘विकास निर्माणका कार्यमा वैज्ञानिक पद्धति अपनाउनु जरुरी छ।’

उनले भनेजस्तै खोलाकिनारमा रहेका बस्ती तथा भिरपहिरोमा रहेका घरहरू यति बेला बढी जोखिममा परेका छन्। विगतका वर्षजस्तै यस वर्ष पनि कपन क्षेत्र नराम्ररी डुबानमा परेको छ। हरेक वर्ष डुबानको पीडा खेप्दै आएका कपनवासी मंगलबार निकै निराश देखिन्थे। ‘बाढीमा डुब्नु हाम्रो नियती नै भइसक्यो,’ रमेश विष्टले भने, ‘पानीको यो त्रासबाट हामीले कहिले मुक्ति पाउने ?’

भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुंगेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुसी, अनामनगरलगायत क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए। ‘भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन्,’ कार्कीले भने, ‘डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ।’

प्रहरीले सचेतनाका लागि वागमती र मनोहरा खोलाआसपासमा नियमित गस्ती र माइकिङ गरिरहेको उनले जनाए। वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077