Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतसँग पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा १ विकेट पनि नगुमाई लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतक बनाए । रोहितले ७४ र शुभमनले ६७ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ रनमा २ सय ३० रन बनाउँदा अल आउट भयो ।

नेपालका लागि नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे । यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए । कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए ।

दीपेन्द्रसिंह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए । यस्तै भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए । यो हारसँगै नेपाल १ अङ्क पनि नजोडी समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने यो जितसँगै सुपर फोर मा पुगेको छ । समूह ए बाट पाकिस्तान यसअघि नै सुपर फोर मा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077