काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता भएको छ । एसिया कप क्रिकेटमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको हो ।
नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।
भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए । एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।
नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।