काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । सोमबार कोलम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको हो ।
भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १ सय २८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाए । यस्तै अघा सलमान र इफ्तिकर अहमदले समान २३ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले ५ विकेटले लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो । भारतका लागि विराट कोहली र केएल राहुलले शतक बनाए ।
कोहली १ सय २२ र राहुल १ सय ११ बलमा नटआउट रहे । तेस्रो विकेटका लागि कोहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनको साझेदारी गरे । यसअघि शुभमन गिल ५८ र कप्तान रोहित शर्माले ५६ रन बनाएर आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफ्रिदी र शदाब खानले १र१ विकेट लिए ।
भारत र पाकिस्तानबीच रिजर्भ डे मा खेल भएको थियो । यो जितसँगै भारत १ खेलमा २ अङ्कसहित सुपर फोरको शीर्ष स्थानमा उक्लिएको छ । २ खेल खेलेको पाकिस्तान २ अङ्कसहित तेस्रो स्थानमा छ ।